माघ ६,पोखरा – गण्डकीसहित देशभरका निर्माण व्यवसायीहरुले सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी, भुक्तानी अभाव लगायत समस्याहरु तत्काल समाधान गर्नुपर्नेलगायतका विभिन्न १४ बुंदे मागसहित जिल्ला प्रशासन कार्यलय तथा मुख्यमन्त्री कार्यलयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
गत पुस २७ गते राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट पारित भएबमोजिमको १४ बुँदे मागसहित आन्दोलनको पहिलो चरणमा आआफ्नो जिल्ला र प्रदेशबाट ज्ञापनपत्र बुझाईएको नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले जानकारी दिनुभयो । सार्वजनिक खरिद नियमावलीको तेह्रौं संशोधनबाट सिर्जित म्याद थपको समस्यासमेत समाधान नभएको, व्यवसायीहरुले भुक्तानी नपाएको तथा निर्माण सामाग्रीमा अस्वभाविक मुल्यवृद्धि भएको लगायतका समस्याहरु अघि सारेर ज्ञापनपत्र बुझाईएको छ । माघ १५ गतेभित्र आफूहरुको माग सम्बोधन नभए देशव्यापी रुपमा निर्माण कार्य ठप्प हुनेगरि आन्दोलनमा उत्रने अध्यक्ष गुरुङले बताउनुभयो ।
कास्कीका निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यलय कास्कीमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री ज्ञापनपत्र बुझाउनुभएको हो भने निर्माण व्यवसायी संघ गण्डकीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलय पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । नेपाल निर्माण व्यवसायी महासंघले यसअघि नै निर्माण उद्योगका विद्यमान समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै आन्दोलनमा उत्रिने घोषणा गर्नु भयो ।
भेलाबाट पारित भएबमोजिम ज्ञापनपत्रमा सार्वजनिक खरिद नियमावलीको तेह्रौं संशोधनबाट सिर्जित म्याद थपको समस्या अन्त्य हुनुपर्ने, निर्माण सामाग्रीमा भएको अस्वभाविक मुल्यवृद्धि घटाउनुपर्ने, विभिन्न कारणले रुग्ण रहेका ठेक्काहरू सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, निर्माण उद्योगको समस्या समाधानका लागि सार्वजनिक खरीद ऐन तथा नियमावली तत्काल पुनर्लेखन गर्नुपर्ने तथा सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन हुनुपर्नेलगायतको माग रहेका छन् ।
भेलाले घोषणा गरेको कार्यक्रम अनुसार महासंघले १४ बुँदे माग पूरा गराउनका लागि माघ १५ गतेसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र ज्ञापनपत्र बुझाएको छ भने माघ १८ गते माइतीघर मण्डलामा धर्ना तथा माघ २० मा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने जनाएको छ । माघ २१ गतेबाट राजधानी प्रवेश गर्ने पूर्वी र पश्चिमी नाकाहरू ठप्प पार्ने चेतावनी पनि दिएको छ ।