चैत २६,पोखरा – गण्डकी प्रदेश सभाको सातौं अधिवेशन आज मध्यरातीबाट अन्त्य हुने भएको छ । यसका लागि आज १ बजेर ५० मिनेटको समयमा प्रदेश मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषद्का एजेन्डा बैठकमै सार्वजनिक गरिने भनेर मन्त्रीहरुलाई जानकारी भने दिइएको छैन् ।
आजै प्रदेश सभामा अधिवेशनको सोह्रौ बैठक बस्दैछ । प्रदेश सभा नियमावली संसोधन गरेर बैठक सकिनेछ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख समक्ष अधिवेशन अन्त्यका लागि सिफारिश गर्नेछ । यसको जानकारी प्रदेश प्रमुखले प्रदेश सभा सचिवालयलाई जानकारी गराउँछन् । हिउँदे अर्थात बिधेयक अधिवेशन समेत भनिने यस अधिवेशनमा ६ बिधेयक पारित भएका छन् । यसैगरी विभिन्न १० वटा बिधेयक पेश भएका छन् । पारित भएका बिधेयकमा गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको बिधेयक, गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मतसंभार गर्ने सम्बन्धी, सामयिकक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक छन । यसैगरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको बिधेयक, जीवनाशक बिषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पनि पारित भएका छन् ।
यस्तै गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संसोधन गर्न बनेको बिधेयक, गण्डकी प्रदेशमा विद्युत बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका बिधेयक प्रदेश सभामा पेश भएका छन् । सभामा पेश भएका अन्य विधेयकहरुमा गण्डकी प्रदेशका दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्थाम गर्न बनेको, अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको, खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक छन । गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र गण्डकी प्रदेशका घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको बिधेयक पनि प्रदेश सभामा पेश भएका छन् ।
यस अधिवेशनमा स्वर्गीय सांसद विमला गौचनप्रति शोक प्रस्ताव पारित देखि मुख्यमन्त्रीसंग सांसदहरुको प्रश्नोत्तर कार्यक्रमसम्म भएका थिए ।