जेठ १४,पोखरा – यातायात व्यवसायीहरूले यही जेठ १६ गते गण्डकी प्रदेश तथा जेठ १९ गतेदेखि देशभरि सबै किसिमका सार्वजनिक यातायातका साधनहरू ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले १६ गतेदेखि गण्डकी प्रदेशबाट सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिए । यातायात व्यवासायीहरूले राखेका मागहरूमा सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने गरी सातै प्रदेशका सरकारहरूले काुनन ल्याउने तयारी गरेको भन्दै गण्डकी प्रदेश सरकारले मिति २०८/२२/१ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ‘ज’ तत्काल खारेजी गर्न माग राखिएको छ।
नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष भरत नेपालका अनुसार जेठ १९ गतेदेखि बस, मिनिबस, माइक्रोबस, टयोम्पो मात्र नभइ कालो नम्बर प्लेट भएका सबै प्रकारका यातायात साधनहरू जस्तै टयाक्सी, टयांकर, मिनि ट्रक, टयाक्टर, पेट्रोलिय ढुवानी गर्ने साधानहरू समेत बन्द हुने छन्।
यसैगरी सर्वोच्च अदालतबाट संघसंस्था दर्ता ऐन २०३४ मा रहेका संघ समिति नवीकरण सम्पत्ति फुकुवाको मिति २०८०/१२/२० गतेको परमादेश तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। सवारी ऐन २०४९ संशोधनको काममा रहेको अवस्थामा सरकारसँग यातायात व्यवसायी महासंघ र मजदुर संघसंगठनसँग विभिन्न मितिमा भएको सम्झौता सहमति र सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग राखेका छन्।
यातायात व्यवसायीहरूले राखेका अन्य मागहरूमा मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारीसाधनको भारवहन क्षमता कडाइका साथ लागु गर्नुपर्ने, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्न माग राखिएको छ।