असार २९,पोखरा – छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले यस अघि मूख्य योजनाकार नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज सुजन विकलाई शुक्रबार साँझ नै पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले थप दुईजनालाई पक्राउ गरिएको बताएका छन् । एसपी ओलियाका अनुसार शुक्रबार बिहान पहारीमाथि अध्यक्षमाथि कालोमोसो दल्ने २ जना र यस घटनाका मुख्य योजनाकारसहित सबैलाई पक्राउ गरिएको छ ।’ उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको आरोपमा अनेरास्ववियु (क्रान्तिकारी)का नाममा पहारीमाथि कालोमसी छ्यापिएको थियो । पहारी शुक्रबार बिहान निवासबाट विद्यालयतर्फ जाँदै गर्दा उक्त घटना भएको थियो । ३० वर्ष पढाएका गुरूमाथि भएको घटनाको सर्वत्र निन्दा गरिएको छ।