साउन १८,पोखरा – लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो।
आइतबार बिहान नदीको सतह उच्च विन्दुमा नदीको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। बिहानदेखि नदीको सतहदेखि ६ मिटर ४० सेन्टिमिटरको उचाइमा बहाव भइरहेको बताए। यो वर्षको सबैभन्दा बढी मापन हो ।
नदीको बहाव बढेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका हुन्।
बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो मानिएको शालिग्राम शिलासमेत डुबानमा परेको छ। शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो।
शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियनसमेत पानीले पुरिएका छन्। कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका भने खोलिएका छन्।पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका झन्डै २०० व्यापारी तथा सर्वसाधारण जोखिममा परेका छन्।