साउन २५,पोखरा – लमजुङ मर्स्याङ्दी –६ मा निर्माणाधीन सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।
हिजो दिउँसो अचानक आएको पहिरोले बेँसीसहर–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दोर्दी–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल –७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्युठान जिल्ला झिम्रुक –६ का २५ वर्षीय विकास विष्ट घाइते भएका छन्।
घाइतेहरूको बेँसीसहर –८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ। आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको प्रहरीको भनाइ छ। क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन्। अन्य ३६ जना भने सकुशल रहेका छन्।