बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

by sambridhaonline

चैत १० , पोखरा – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीमा पीडितका संघर्ष समितिका तर्फबाट आन्दोलनदेखि अदालतसम्म बहस र आन्दोलन गरेका जैसी नै पोखराको धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रुपमा पक्राउ परेका हुन् ।गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरी पत्रका आधारमा जैसीलाई पक्राउ गरिएको हो । धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

प्रहरीले जैसीलाई पक्राउ गरेको छ भने अन्य ४ जनालाई पक्राउ पुर्जी जारी भएको जनाएको छ । २०८१ साल पुस महिनामा प्रारम्भिक छानबिन गरी १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदन रजिस्ट्रारको कार्यालयमा पेश भएको थियो ।रजिस्ट्रार कार्यालयले पटक पटक निर्देशन गरी कारबाही प्रक्रिया बढाउँदासमेत ६ करोड रुपैयाँ मात्र असुल १२ करोड ५६ लाख अझै पनि शोधभर्ना नदिएको कारणबाट प्रहरी अनुसन्धानका लागि १२ महिना ८ गते अनुसन्धानका लागि लेखिपठाएको थियो ।

साविक साइनो र धनुष मर्ज भएर धनुष बचत तथा ऋण सहकारी संस्था बनेको थियो । साविकको पोखरा–९ र अन्नपूर्ण गाउँपालिकाको नौडाँडाँमा रहेको यी सहकारी मर्ज भएर नयाँ ब्यवस्थापन समिति बनेको थियो ।

उक्त सहकारीको रकम हिनामिनामा साविक साइनोतर्फका सञ्चालक समितिका पदाधिकारी अध्यक्ष गमरेजसिंह गुरुङ र श्रीमती सञ्चालक काशीमाया गुरुङ, उनीहरूका छोरी सिर्जना गुरुङ र एभिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक तथा तदर्थ समितिका अध्यक्ष असिम बरालको मुख्य योजनामा ३ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

धनुष सहकारीतर्फ व्यवस्थापकद्वय विराज सुवेदीको २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ । यसैगरी रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी गठी प्रकरणमा जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी सहकारीको ऋण उपसमितिको पदाधिकारीमा प्रवेश गरी कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनले जनाएको छ ।

मुख्यगरी हिनामिनाका योजनाकारका रुपमा उनीहरूलाई लिइएको छ भने अन्य सञ्चालक तथा पदाधिकारीलाई पनि अनुसन्धान अगाडि बढाउन प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पत्र जाहेरीमार्फत सिफारिस गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जैसीसमेतले दिएको जाहेरीका आधारमा रवि लामिछाने पहिलो पटक पक्राउ परेका थिए । पहिलो चरणमा जिवी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेर अदालतमा मुद्दा दायर भएको पुरक प्रतिवेदनका आधारमा दोस्रोचरणमा रविसहित ५१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा लगाइएको थियो । रविसहित ५१ जनालाई विपक्षी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड बिगो माग दाबी गरिएको थियो । त्यही मुद्दामा रवि पक्राउ परी ८४ दिनपछि ६५ लाख धरौटीमा छुटेका थिए ।

कृष्णप्रसाद पोखरामा सूर्यदर्शन सहकारी पीडितका तर्फबाट आन्दोलनको नेतृत्वकर्तामध्ये थिए । फागुन २१ गतेअघि चुनावी अभियानकै क्रममा रविले सूर्यदर्शनको सहकारीबाट आफूहरूको पैसा खाइदिएकाले बच्चाको शुल्क तिर्न नसकेको भन्दै रास्वपा उम्मेदवार बिना गुरुङलाई विद्यालयको बिल दिएर चर्चामा आएका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline