असोज-०७ , कास्की – जिल्ला प्रशासन कार्यालय कास्की बाहिर अहिले दुइपक्षीय नाराबाजी सहित प्रदर्शन भैरहेको छ ।एकपक्षीय सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीकाे पैसा गाेर्खा मिडिया मार्फत लामिछानेले दुरुपयाेग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी सहित प्रदर्शन गरेका हुन् । भने प्रशासन कार्यालयकाे गेट ठिकअगाडि शहीद चाेककाे चाैतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।
सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता–कार्यकर्ता आमने-सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रशासन तथा शहीद चाेक आसपासमा सुरक्षाकर्मी खटाइएकाे छ ।विभिन्न सहकारीमा भएकाे अपचलनबारे छानबिन गर्न बनेकाे विशेष संसदीय समितिकाे सिफारिस र गृहमन्त्री रमेश लेखककाे निर्देशनपछि आइतबार गाेर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआईजी छविलाल जाेशीलाई पक्राउ परेर पाेखरा ल्याइएकाे छ । जाेशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँएको छ ।
अहिले सहकारी पीडितले बचतकर्तालाई मारेर सहकारीकाे पैसा गोर्खा मिडियामा गएकाे र त्यसलाई अपचलन गर्ने काम रविले गरेकाे बताएका छन् । रविकै संलग्नतामा रकम अपचलन भएकाे भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गाेर्खा मिडिया सहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।झन्डै डेढ अर्ब अपचलन भएकाे सूर्यदर्शन सहकारीबाट गाेर्खा मिडियामा ५ कराेड रुपैयाँ देखिएकाे छ । सहकारीका अध्यक्ष जीबी राईलाई भगाउन पनि रविकै संलग्नता रहेकाे पीडित संघर्ष समिति संयाेजक किरण श्रेष्ठले बताए ।