कार्तिक १६,पोखरा – पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड रुपैयाँ हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख हिनामिना भएको हो ।
रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् । तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिनअनुसार १९ जना प्रतिवादी छन् । सहकारीमा झण्डै ६ सय ५० जना बचतकर्ता रहेको प्रहरीले जनाएको छ । सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन् ।