कार्तिक १६,पोखरा – पोखरा महानगरपालिकाले हस्तक्षेप गरेपछि छोरेपाटनस्थित पाताले छाँगो (डेभिज फल) मा तालाबन्दी भएको छ । स्थानीय र छोरेपाटन माविले पाताले छाँगोको प्रवेशद्वारमा ताला लगाएका हुन् ।
पाताले छाँगाको आम्दानीमाथि दावी गर्दै महानगरले बिहीबारबाट काम शुरु गरेपछि स्थानीय र विद्यालयले पर्यटक प्रवेश गर्ने प्रवेशद्वारमै तीन वटा ताला लगाइदिएका हुन् । ताला लगाउनेक्रममा नगर प्रहरी र स्थानीय बीच तनाव उत्पन्न भएको थियो । विद्यालयका विद्यार्थीहरुले धर्ना दिएर नाराबाजीसमेत गरेका थिए ।
पाताले छाँगोबाट हुने आम्दानीले छोरेपाटन मावि सञ्चालन हुँदै आएको छ । पाताले छाँगो कै आम्दानीबाट एक सय बढी शिक्षकलाई विद्यालयले तलब दिने गरेको छ ।
विसं २०३५ देखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको छ ।
त्यहाँबाट वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गर्दै आएको विद्यालयका प्रधानध्यापक डिल्लीराम भुसालले जानकारी दिए ।
पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक रु २५ लाख विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार एक सय १२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् ।
बाँकी ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको र उनीहरुको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको उनको भनाइ छ ।
स्थानीयले विद्यालयले भोगचलन गर्दै आएको त्यस क्षेत्रलाई महानगरले हस्तक्षेप गर्न नपाउने दावी गर्दै आएका छन् ।
महानगरपालिकाले दुई करोड रुपैयाँमा मात्र ठेक्का लगाएको स्थानीयको दावी छ । यसअघिको आम्दानी भन्दा आधामा ठेक्का लगाइएपछि आफूहरु अन्दोलित बनेको स्थानीय देवराज आचार्यले बताए ।
उनले भने, ‘विद्यालयको जिम्मा सरकारले लिने होला, तर अघिल्ला बर्षमा चार करोड आम्दानी हुने गरेकामा अहिले दुई करोडमा ठेक्का लगाउनु शंका उत्पन्न भयो ।’
पाताले छाँगोमा महानगरले अघिल्लो वर्ष नै हस्तक्षेप गर्ने प्रयास गरेको भए पनि चौतर्फी विरोध भएपछि हटेको थियो ।