कार्तिक २७ , पोखरा – कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी पर्व आज मङ्गलबार देशभर मनाइएको छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । ठूलो एकादशीको अवसर पारेर कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ तुलसी घाटमा निर्माण गरिएको गणेश मन्दिर, १०८ शिवलिङ्ग र ढुङ्गेधारा (हिंटी) उद्घाटन गरिएको छ ।
तुलसी घाटमा आयोजित तुलसी विवाह एवम् हरिबोधनी एकादशी मेलाको अवसर पारेर पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिले निर्माण गरेको संरचना उद्घाटन गरिएको हो । गणेश मन्दिर, १०८ शिवलिङ्ग र ढुङ्गेधाराको पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्नुभएको हो । नयाँबजारबाट तुलसी घाटसम्म जानका लागि यसअघि नै वडा कार्यलयले प्रवेशद्वार, सिढीयुक्त बाटो बनाइसकेको छ । संरचना उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मर्सानीले तुलसी घाटलाई सौन्दर्यकरण गरि धार्मिक पर्यटकको गन्तव्यका रुपमा विकास गर्नुका साथै परम्परा र संस्कृति संरक्षणका लागि वडा कार्यलयले यस प्रकारका संरचना निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का जनप्रतिनिधिहरू, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, नयाँबजार नेवा मिसा पुचःका अध्यक्ष यमुना तझ्या, नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठ, स्थानीय टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो । संरचना उद्घाटनसँगै आज सेती नदि किनारमा रहेको तुलसी घाटमा फूलको डोली तारिएको थियो । हरिबोधनी एकादशीको दिन आज सेती किनारमा तोरण तार्ने, स्नान, दान र भजन कीर्तन, नाचगान गर्ने मानिसहरूको घुँइचो लागेको थियो ।