मंसिर ११, पोखरा – मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ ।
युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेशन) स्थापना गरेको हो ।
मौसमको पूर्वानुमान गरी नागरिकलाई सम्भावित जोखिमबारे समयमा जानकारी दिने उद्देश्यले स्टेशन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
यसबाट विशेगरी वायुमण्डलीय अवस्थाका विभिन्न पक्षहरूको मापन, निगरानी र विश्लेषण गरी नागरिकलाई समयमा सूचना प्रवाह गरिने मोदी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत दिपक शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु पाँच लाख ५० हजारको लागतमा मौसम सूचना केन्द्र स्थापना भएको हो । यसले मुख्यगरी तापक्रम मापन गर्ने, हावाहुरीको गति र दिशाका बारेमा जानकारी दिनुका साथै वर्षा र आर्द्रता मापन गर्नेछ । साथै जलवायु अध्ययन, आपत्कालीन पूर्वसूचना प्रदान गर्न सहयोग पुग्ने शर्माले बताउनुभयो ।
यो सूचना केन्द्रलाई जल तथा मौसम विज्ञान विभागका विभिन्न भागमा रहेका जलवायु मापन केन्द्रहरूसँग समन्वय गरी दैनिक रूपमा एकीकृत विवरणहरू उपलब्ध गराउने मोदी गाउँपालिकाले तयारी गरेको छ ।
केन्द्र स्थापनासँगै विशेषगरी वर्षायाममा हुने बाढीपहिराका घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।