पौष २८, पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत बिहिबार कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा हुनुभएको छ ।
अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त हुनुभएको हो । लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने शर्तमा रिहा गरिएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले बिहिबार बेलुकी रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिनुभएको थियो । रिहा भएपछि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिनुभएको छ ।
काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रवार काठमाण्डौ आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराएको हो ।
आज नै उनको बयान र वकिलहरूको बहस सक्ने तयारी छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक र साझेदार रहँदा विभिन्न सहकारी संस्थाबाट टेलिभिजनमा लगानी भएको रकम परिचालनमा लामिछाने पनि जिम्मेवार रहेको सरकारी पक्षको आरोप छ ।
सहकारी समस्याबारे छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेपछि उनीमाथि विभिन्न जिल्लामा अनुसन्धान शुरु भएको थियो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।