माघ ०४,पोखरा – उच्च अदालत पोखराले करारका कर्मचारी हटाउने विषयमा परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको छ । पोखरामा कर्मचारी विवाद गत तिहारयता निकै चर्केको थियो । कार्यपालिकामा कांग्रेसको बहुमत छ । उनीहरुकै दबाबमा मेयर धनराज आचार्यले गत कात्तिक १५ गते कार्यपालिका बैठकबाट करारका कर्मचारी हटाउने निर्णय गरेका थिए ।
त्यसको विरुद्धमा एमालेका जनप्रतिनिधीले विशेष नगरसभा माग गरे । मंसिर २८ मा राखिएको विशेष नगरसभाले पुस मसान्तपछि करारका कर्मचारीलाई हाजिरी नगराउने निर्णय गरेको थियो । नगरसभाको सोही निर्णयविरुद्ध उच्च अदालत पोखरामा रिट परेको थियो ।
गत पुष २६ गते एमाले कास्कीका सचिव लेखबहादुर तामाङ (दर्शन लामा) लगायतले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । उनी एमालेबाट निर्वाचित पूर्ववडाध्यक्षसमेत हुन ।
उक्त रिटमाथि २८ गते न्यायधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अल्पकालनी अन्तरिमा आदेश दिँदै अन्तरिम आदेशका सम्बन्धमा छलफलको आदेश दिएका थिए ।
माघ ३ गते बिहिबार भने उच्चले अन्तरिम आदेशको विद्यमनता नरहेको आदेश गरेको हो ।न्यायधीशद्वय मेरिना श्रेष्ठ र उमेश कोइरालाको इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।