माघ १३,पोखरा – पोखराको छोरेपाटनस्थित छोरेपाटन माविले २०३४ सालदेखि सपाञ्चालन गर्दै आएको डेभिज फल्स (पाताले छाँगो) पोखरा महानगरपालिका आफैले संचालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले पाताले छाँगोको स्वामित्व महानगरले लिने निर्णय गरेको हो । लामो समयलाई ठेक्का दिने महानगरको निर्णय विरुद्ध सरोकारवालाहरूले आलोचना गर्दै आएका थिए ।
छोरेपाटन माविले छाँगो स्कुलले नै चलाउनुपर्ने भन्दै आएको थियो । तर महानगरपालिकाले माघ १ गते ताला लगाइदिएको थियो । स्कुलले पनि अर्को ताला लगाएको छ । अहिले छाँगो हेर्नबाट पर्यटक बन्चित छन् । आइतबारको बैठकले उक्त ताला खोल्ने र महानगरले आफ्नै कर्मचारी राखेर प्रवेश शुल्क लिने निर्णय गरेको महानगरले जनाएको छ ।
बैठकले डेभिज फल महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो । स्कुलले छाँगोको आम्दानी लिने गरी भएको काम कानुन विपरीत भएको ठहर बैठकको छ । साथै छाँगोमा परियोजना सञ्चालन गर्ने सम्बन्धमा सरोकारवाला पक्षहरूका बिच छलफल गर्ने निर्णय गरेको छ ।
महानगरले २०७८ साउन १४ गते ४० वर्षका लागि उक्त छाँगो निजी क्षेत्रलाई जिम्मा दिने गरी सम्झौता गरिसकेको छ । सेती क्यानोन प्रालिले त्यहाँ सिसाको पुल निर्माण गर्ने र अन्य पर्यटकीय पूर्वाधार थप्ने गरी सम्झौता भएको हो । तर सम्झौताको समयावधि र परियोजनाबाट प्राप्त हुने रोयल्टी लगायत विषयमा स्थानीयस्तरमा आलोचना हुदै आएको छ । आलोचना भएका क्षेत्रमा परियोजना सञ्चालनका लागि जिम्मेवार कम्पनी समेतको उपस्थितिमा व्यापक छलफल मार्फत अगाडि बढ्ने निर्णय भएको मेयर धनराज आचार्यले जानकारी दिए । बैठकमा मेयर आचार्य, उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं सहित कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित सुरक्षा निकायका प्रमुखहरू, वडा नम्बर १७ का वडा अध्यक्ष राधिकाकुमारी शाही योगी, छोरेपाटन माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पूर्व अध्यक्षहरू समेतको उपस्थिति थियो ।