माघ २८,पोखरा – पोखरा महानगरपालिकाको महानगर क्षेत्रमा कोटीहोम सञ्चालनको विषयलाई लिएर सर्वत्र बहस चलिरहेको छ।
केही दिनअगाडि कोटीहोम सञ्चालनका लागि पोखरा महानगरपालिकाभित्र रहेको पुराना तथा ऐतिहासिक चौतारीहरूका बर, पीपल‚ चाँप‚ आँपलगायत अनेकौँ रुख होम आयोजकले गैरकानूनी रुपमा काटेको भन्दै चर्को आलोचना भइरहेको छ।
मानव सेवा फाउन्डेसन नेपालले नै कोटीहोमका लागि दाउरा काटेको भनिएको छ भने अर्कातिर महानगरले आफ्नो अनुमति नलिई जथाभावी बर‚ पीपल‚ आँप र चाँपलगायत रुख काटेको जनाएको छ। साथै महानगरपालिकाले पर्यटकीय क्षेत्रमा प्रदूषण फैलाउनेगरी कोटीहोम आयोजना गर्न नदिने बताउँदै आएको छ।
महानगरपालिकाका अनुसार नगर कार्यपालिकाको गत माघ २० मा बसेको ४२औँ बैठकबाट मानव सेवा फाउन्डेसन नेपाललाई पोखराको लेक साइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णयसमेत रद्द गर्न लेखी पठाउने निर्णय गरिसकेको छ।
नेपाल ट्रस्टले कोटीहोमका लागि उपलब्ध गराएको लेकसाइडस्थित जग्गा शहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटक आवतजावत तथा घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्रका रूपमा रहेको महानगरपालिकाले बताएको छ।
विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर गरी महानगरपालिकाले अनुमति तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको हो।
महानगरले नगर क्षेत्रभित्र आफ्नो अनुमतिविना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमति/सिफारिस/सहमति नदिनसमेत ट्रस्टलाई अनुरोध गरेको छ।
महानगरपालिकाले कोटीहोमका लागि समिधाका नाममा बरपीपल काटेको भन्दै मानव सेवा फाउन्डेसनलाई प्रचलित कानूनबमोजिम अविलम्ब कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई पत्र पठाउने निर्णयसमेत गरेको छ।
महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडकछेउका पुराना र ऐतिहासिक चौतारीका बरपीपल‚ आँप‚ चाँपलगायत रुख बिरुवा गैरकानूनी रूपमा अनियमित तवरले काटेर पर्यटकीय राजधानी शहरको सुन्दरता ध्वंस गरेको, जैविक विविधता र पर्यावरणमा क्षति पुर्याएको भन्दै रुख कटानमा संलग्न व्यक्ति वा संस्थालाई कारबाही हुनुपर्ने महानगरपालिकाले बताएको छ।
महानगर क्षेत्रभित्र धार्मिक तथा सांस्कृतिकलगायत अन्य कार्यक्रम आयोजना एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्था वा व्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्वार प्रणालीमार्फत साविकदेखि नै हुने व्यवस्था भएकाले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालय, शाखा र महाशाखाहरूलाई निर्देशनसमेत महानगरले दिएको छ।
महानगरपालिकाले अनधिकृत रूपमा काटिएका ऐतिहासिक चौतारीका पुराना वरपीपललगायत रुखका दाउराहरू जफत गरेको जनाएको छ।
अनधिकृत रूपमा कटान गरी नेपाल ट्रस्टको जग्गामा राखिएका काठदाउराहरु बुधवार नियन्त्रणमा लिएर सुरक्षित स्थलमा राखिएको छ। अनुमति नै नलिएर मानव सेवा फाउन्डेसनको नाममा पोखराका नाममा महिनौँ दिन लामो कोटी होम गर्नका लागि ती काठजन्य सामग्रीहरू जोहो गरेको पाइएको पोखरा महानगरपालिकाको कार्यालयले बताएको छ।
आइतवार मानव सेवा फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै पोखरामा कुनै पनि हालतमा जस्तोसुकै परिस्थितिमा पनि कोटीहोम गर्ने बताएको छ।
फाउण्डेसनका संस्थापक गुरु विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले भने, ‘ज्यान हत्केलामा लिएर हिँडेको मान्छे हौँ। कसैले रोकेर हामीहरू रोकिने छैनौँ।‘ धर्म वा सनातनका लागि अधर्म गर्नु पर्छ भने पनि आफू तयार रहेको चेतावनी उनले पत्रकार सम्मेलनमा दिए।
‘बालयोगेश्वर यहाँ यज्ञ नगरीकन फर्किन्नँ। जुन ठाउँमा यज्ञ आयोजना हुने हो, जुन मितिमा हुने हो, जुन किसिमले हुने हो, यसमा बरु विराट होला, भव्य होला। त्यसमा कुनै कमी हुँदैन’, उनले आइतवारको पत्रकार सम्मेलनमा भने।
विवादित छवि भएका कृष्णमूर्ति ठगीदेखि लिएर गत साउनमा पशुपतिमा लगाएको कोटीहोमको विवादमा समेत मुछिएका थिए। उनी वैदेशिक रोजगार र अमेरिका लैजान्छु भनेर विभिन्न व्यक्तिलाई ठगेको आरोपसमेत गरी ५ पटकसम्म पक्राउ परेको बताइन्छ।