चैत्र ०४,पोखरा – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लागि मतदान हुने मिति निजिकिदै जाँदा पोखराको जनप्रिय क्याम्पसमा भने अनिश्चित बनेको छ । तीन विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएर जान खोज्दा नमिलेपछि उनीहरुले तालाबन्दी गरेका हुन् । जसका कारण मंगलबार हुने स्ववियु निर्वाचन अनिश्चित जस्तै भएको छ । जनप्रियमा अखिल क्रान्तिकारी, अखिल समाजवादी र अनेरास्ववियूले उम्मेदवारको दाबी विरोधको अन्तिम नामावली प्रकाशित पश्चात आफुहरु संयुक्त जाने र सोही अनुसार दर्ता गराउन आएपछि निर्वाचन समितिले निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएपछि अस्विकार गर्दा उनीहरुले ताला लगाएका हुन् ।
निर्वाचन अधिकृत दीपलाल खनालले सुरुमा तीन संगठन छुट्टाछुट्टै आएको र सोही अनुसार दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा मात्रै संयुक्त रुपमा जाने भन्दै ताला लगाएको बताए । ‘अस्तिदेखि प्रक्रिया रोकिएको छ । एउटा समुहले तालाबन्दी गरेका छन् । तालाबन्दीको कारण हामी अघि बढ्न सकेनौं । सुरुमा संयुक्त प्यानल भनेर आएनन् । छुट्टाछुट्टै प्यानल भएर आए अहिले आएर एकै बन्न निर्वाचन निर्देशिकाले दिदैन’ उनले भने, ‘यसको विषयमा हामीले क्याम्पसलाई खबर गरिसकेका छौं त्यसको बारेमा पछि केके भयो हामीलाई थाहा छैन् । मिलाउने प्रयास भइरहेको छ ।’ यस अघि समेत एउटा विद्यार्थी समूहले नामावली नपरेपछि ताला लगाएको थियो । तर, पछि उक्त विषयमा छलफल गरि वार्ता मिलेको थियो ।
जनप्रिय बोहक अन्य क्याम्पसहरु पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिजियरिङ, नर्सिङ, वन क्याम्पसमा भने निर्वाचन प्रक्रिया हालसम्म अघि बढिरहेका छन् । पश्चिमाञ्चलमा नेविसंघको आन्तरिक कारणले ताला लागेपछि शनिबार ताला खोलिएको छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा सोमबार अपराह्न तीन बजेसम्म संघ÷संगठन दर्ताको कार्यक्रम राखिएको थियो ।
फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको थियो । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित भएको थियो । फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण भएको थियो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते भएको थियो, सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित भएको हो । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध फागुन २८ गते भएको थियो सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित भएको थियो । यस्तै फागुन २९ गते दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको थियो । चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।