चैत्र ६,पोखरा – गण्डकीका नेता जन्माउने क्याम्पस भनेर चिनिने पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाजी मार्दै आएको यस क्याम्पसमा रश्मि आचार्य सभापति चुनिएपछि निर्वाचन हुन सकेको छैन । पिएनको स्ववियु निर्वाचनलाई नेता उत्पादन गर्ने कारखानाको रुपमासमेत हेरिन्छ । यहाँको निर्वाचन परिणाम दलहरुको प्रतिष्ठाको विषय बन्छ ।
देशकै धेरै विद्यार्थी अध्ययन गर्ने ठूलो क्याम्पस पिएनमा यस पटक चुनाव हुने सम्भावना बढेको थियो । तर, निर्वाचन समिति र अधिकृतले गल्ती गर्दा यसपटक पनि अनिश्चित बनेको छ ।
निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले सर्वपक्षीय बैठकमा जातिय विभेदजन्य शब्द प्रयोग गर्दा चुनावी माहौल भड्किन खोजेको अवस्थामा बेलैमा क्षमायाचना गरेर सच्याएका कारण सामान्य बनेको थियो ।
त्यसपछि चुनावी वातावरण तयार भइरहँदा निर्वाचनकै दिन फेरि भाँडियो । मतपत्र छपाईमा त्रुटी गर्दा चुनाव नाचाहने तत्वलाई फाइदा पुगेको छ । मतपत्रमा अखिल छैठौंका उम्मेदवारको नाम पछाडि कोठा नराखिँदा चुनाव भाँड्न निहूँ चाहिएको तत्त्वलाई खोजेजस्तै भयो ।
नत्र, सर्वपक्षीय छलफलबाट निचोडमा पुग्न गाह्रो थिएन । कोठा नभएका कारण त्यस स्थानमा नामको अगाडि वा पछाडि ठीक लगाएमा मान्ने भनेर सहमति कायम गर्न सकिन्थ्यो । तर, भाँड्ने पक्ष नै हाबी बन्दा सहमति बनेन ।
केही विद्यार्थी भने निर्वाचन समितिले जानाजान त्रुटिपूर्ण मतपत्र छापेको आरोप लगाउँछन् । फाइनल नगरी छापाखानामा कसरी छापिन्छ ? भन्दै उनीहरू प्रश्न गर्छन् । निर्वाचन समिति नै चुनाव हुन नदिने तत्वको हितमा रहँदा यस पटक पनि चुनाव अनिश्चित बनेको उनीहरुको दुःखेसो छ ।
पिएनमा बुधबार हुने भनिएको मतदान पनि स्थगित गरिएको छ । अब अर्को मिति नतोकिएसम्म पिएनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भएको हो ।
संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको कारणले भोलि हुने भनिएको मतदान स्थगित भएको निर्वाचन अधिकृत प्राध्यापक डा. पोखरेलले बताए ।
‘भोलिको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बाधा उत्पन्न भएकाले सर्वपक्षीय छलफलद्वारा स्ववीयु निर्वाचनको अर्को निर्वाचन मिति तय गर्ने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ’, उनले भने ।
मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने भनिएको स्ववियुको निर्वाचन मतपत्र छपाइमा त्रुटि भएपछि सुरु हुनै सकेन । निर्वाचन समितिको गम्भीर लापरवाहीले मतपत्र त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गर्दा मतदान सुरु भएको थिएन ।
निर्वाचन समितिले मतपत्रमा अखिल छैठौंको तर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन सुनारलाई मतदान गर्नलाई कोष्ठ राखिएको थिएन ।