चैत्र ८,पोखरा – पोखरा महानगरपालिकामा उजुरी फर्छ्यौट गर्ने अख्तियारी पाएका कर्मचारी नै अख्तियारको फन्दामा परेका छन् ।
फाइल फर्छ्यौट तथा समन्वय समितिमा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको रकमसहित पक्राउ परेका हुन् ।
गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो साढे ३ बजे पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिनुभयो । महानगर कार्यालय बाहिर अख्तियारका कर्मचारीले गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
पाण्डेका अनुसार अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का व्यक्तिसँग १ लाख रुपैयाँ मागेका थिए । बिहीबार त्यसमध्ये २५ हजारसहित उनी पक्राउ परेका हुन् । उजुरीकर्ता ती व्यक्ति पनि महानगरकै कर्मचारी रहेको बताइन्छ ।
गिरीको जिम्मेवारी पोखरा महानगर र अख्तियार कार्यालयसँग समन्वयकारी भूमिकाको हो । अख्तियारलाई महानगरको तर्फबाट स्पष्टिकरण दिने, वडा तथा शाखाहरूबाट राय प्रतिक्रिया लिएर जवाफ पठाउने काम उनको हो ।
महानगरका अर्का कर्मचारीलाई अख्तियारमा उजुरी परेको छ, म मिलाइदिन्छु भन्दै गिरीले घुस मागेका थिए । गिरीले कृत्रिम उजुरी खडा गरेर तस्वीर, भिडियो नै छ भन्दै झुक्याएर तर्साउँदै रकम मागेपछि ती कर्मचारीले अख्तियारमा उजुरी गरेका थिए ।