बैसाख १३,पोखरा – मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्यालीले पोखरावासीमा धार्मिक जागरण र सामाजिक एकताको सन्देश प्रवाह गरेको बताए । “यो र्यालीले महायज्ञप्रतिको उत्साहलाई अझै बढाएको छ। पोखरेली जनताको सहभागिताले हामीलाई थप प्रेरणा मिलेको छ,” उनले भने । र्यालीमा सहभागी मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, प्लेकार्ड र झण्डाहरू प्रदर्शन गरे। धार्मिक भजन र सन्देशमूलक नाराहरूले र्यालीको वातावरणलाई उत्साहपूर्ण बनाएको थियो।
आजको अतिथिको विशेष आकर्षणमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा होन्डा मोटरसाइकल बिक्रेता चन्द्र कुँवरको सहभागिता रहेको थियो। उनले मोटरसाइकल र्यालीको आयोजनाले सामाजिक एकता र धार्मिक उत्साहलाई प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। फाउण्डेशनका अनुसार,बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कलशयात्रा हुनेछ। यसअघि बैशाख ११ गते साइकल र्याली र बैशाख १२ गते ट्याक्सी र्याली सम्पन्न भइसकेका छन्। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई भव्य र सभ्य बनाउन सबैमा अपिल गरेको छ।