जेष्ठ ९,पोखरा – गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड शेयरिङ नियमावली खारेज नगरे यही जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारी साधनहरू घर ग्यारेज गर्ने यातायात व्यवसायीहरूले चेतावनी दिएका छन् । पोखराको पृथ्वीचोकमा सार्वजनिक यातायात क्षेत्र बचाउ तथा व्यवसायी श्रमिक विरोधी नीतिविरुद्ध बिहीबार आयोजित विरोध सभामा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले आफूहरूको माग यही जेठ १४ गते भित्र पूरा नभए जेठ १५ देखि गण्डकी प्रदेशमा महासङ्घमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगरी घर ग्यारेज गर्ने चेतावनी दिए । अध्यक्ष राईले केहिदिन अघि राइडर्स र सेल्फ ड्राइभ सञ्चालकहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर धन्यवाद ज्ञापन गरेको विषयप्रति इङ्गित गर्दै यातायात व्यवसायी र राईडर्सलाई मुख्यमन्त्री पाण्डेले मुठभेट गराउन चाहेको आरोप समेत लगाएका छन् । मुख्यमन्त्री पाण्डेलाई विचौलियाको प्रभावबाट मुक्त हुन यातायात व्यवसायीहरूले आग्रह गरेका छन् ।
अध्यक्ष राईले पोखरा महानगरपालिकाले टुरिस्ट बसपार्कसम्बन्धी गरेको निर्णयको आलोचना गर्दै यो निर्णय नसच्च्याए पृथ्वीचोकमा मेयर धनराज आचार्यलाई प्रवेश निषेध गर्न सक्ने चेतावनी दिए । पृथ्वीचोकस्थित सबै व्यवसायहरू बिहानदेखि रातीसम्म नै यातायात व्यवसायीहरूका कारण चल्ने गरेको बताउँदै अध्यक्ष राईले यातायात व्यवसायीहरूलाई खेलौना नसम्झन आग्रह गरे ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले जुन प्रयोजनका साथ सवारी साधन दर्ता गरिएको छ सोही अनुसार आफूहरूले सवारी साधन सञ्चालन गरिरहेको बताए । उनले प्रदेशले निर्धारण गरेको नियमको पालना र प्रयोजनअनुसार काम गर्ने सन्दर्भमा कुनै आपत्ति नरहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश सचिव समेत रहेका केसीले १४ गते भित्र आफूहरूको माग सम्बोधन नभए जेठ १५ देखि सवारी साधन थन्क्याउने जनाउँदै त्यसपछि प्रदेश आफैले सवारी साधन किनेर यात्रुलाई सेवा दिन मुख्यमन्त्री पाण्डेलाई चुनौती दिएका छन् ।