जेष्ठ २४,पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः पहिलो पटक हुन लागेको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताउनुभयो । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो ।
संयोजक ढकालले शनिबार कम्तीमा पनि तीन लाख ५० हजार भक्तजन कोटीहोममा आउने दावी गर्नुभयो । कोटीहोममा हालसम्म २३ लाख ५० बढी भक्तजन सहभागी भएको उनले जानकारी दिनुभयो। हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिनुभयो । पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।