असार ५,पोखरा – पोखरामा कालो धुवाँको मुस्लो उडाउँदै हिड्ने नगर बसलाई कानुनी दायरामा ल्याउनु पर्ने गण्डकी प्रदेश सभाका एक सांसदले माग गर्नुभएको छ। माओवादी सांसद हरिबहादुर भण्डारीले प्रदेश सभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै यस्तो माग गर्नुभएको हो ।
‘अहिले पोखरामा गुड्ने नगरबस कालो धुवाँको मुस्लो उडाउँदै कुदिरहेका छन् । सेतो सर्ट लगाएर बाइक र स्कुटरमा हिन्दा नगर बसले फाल्ने धुँवाले सर्ट पनि कालै हुन्छ’, उहा भन्नुहुन्छ , ‘यसले पर्यटकीय नगरी पोखराको बदनाम भएको छ । प्रदुषण बढिरहेको छ ।’ यस्ता बसलाई कारवाही नगर्दा व्यवसायीको अराजकता अझै बढीरहेका भन्दै उहाले कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको हो । यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेशको एकल अधिकार सूचीमा रहेको र यातायात क्षेत्र आन्तरिक राजस्वको सबैभन्दा ठूलो स्रोत भएको पनि उहाले उल्लेख गर्नुभयो ।
एमाले सांसद भीमबहादुर कार्कीले पोखरा–३३ भरतपोखरीमा निर्माण भएको घरेलु हिंसापीडित महिलाको पुनस्र्थापना केन्द्रमा जाने सडक बनाउन माग गर्नुभएको छ । लामो समयपछि बनेको भवनको प्रदेशका मुख्यमन्त्रीले उद्घाटन पनि गरिसकेको भन्दै उहाले सडकसंगै अन्य व्यवस्थापकीय काम पनि गर्नुपर्ने बताउनुभयो। साथै पुनस्र्थापितलाई रोजगारीका अवसर पनि दिनुपर्ने बताएका कार्कीले पृथ्वीराजमार्गबाट केन्द्र जान नजिक पर्ने भएकाले सेती नदीमाथि पुल राख्न पनि सकिने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।