साउन ४,पोखरा – कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले सहित आसपासका क्षेत्रमा धेरै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा मापन गरेको वर्षाको तथ्याङ्कमा वर्षाको दर एक सय ४० मिलिमिटर भन्दा माथि पुगेर अति भारी वर्षाको तहमा पुगेपछि सतर्क रहन ‘एसएमएस अलर्ट’ जारी भएको छ । लुम्लेमा रहेको वर्षा मापक केन्द्रको आधारमा यो समाचार तयार पार्दासम्म लुम्ले सहित आसपासका क्षेत्रमा एक सय ६२ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।
विभागको अद्यावधिक सूचना अनुसार देशको पूर्वी क्षेत्रबाट सुरु भएको वर्षा पश्चिमतर्फ फैलिने क्रममा लुम्लेमा देशभरमै चौथो सबैभन्दा धेरै वर्षा भएको छ । देशभरमा सबैभन्दा बढी वर्षा धनकुटाको त्रिवेणीमा एक सय ९५ दशमलव छ मिलिमिटर, दोस्रोमा सोही क्षेत्रकै माइपोखरीमा एक सय ८२ दशमलव दुई मिलिमिटर र तेस्रोमा पूर्वकै मछुवाघाटमा एक सय ७३ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा हुने वर्षाका अवस्थालाई सात वटा फरक अवस्थालाई सात वटा रङले जनाउने गरेको छ । जसमा खैरो रङले वर्षा नै नभएको शून्य मिलिमिटर, हलुका खैरो÷सेतोले शून्य दशमलव पाँच मिलिमिटरसम्मको झीनो वर्षा, निलो रङले एक देखि ८० मिलिमिटरसम्मको हल्कादेखि मध्यम वर्षा, हरियोले ८० देखि एक सय मिलिमिटरसम्मको मध्यमदेखि भारी वर्षा, पहेँलोले एक सय देखि एक सय २० मिलिमिटरसम्मको भारी वर्षा, गाढा पहेँलोले एक सय २० देखि एक ४० मिलिमिटरसम्मको धेरै भारी वर्षा र रातोले एक सय ४० मिलिमिटर र त्यो भन्दा माथिको अति भारी वर्षालाई जनाउने गरेको छ । जसमा हरियोले सामान्य अवस्थाको सङ्केत गर्दै सामान्य वर्षा भएको र कुनै जोखिम नरहेको, पहेँलोले सतर्कताको सङ्केत गर्दै सम्भावित मध्यम वर्षामा ध्यान दिने सूचना र रातोले उच्च सतर्कताको चेतावनी दिँदै भारी वर्षा, बाढी पहिरोको सम्भावना रहेकोले तयारी र सावधानी मनाउन अत्यावश्यक रहेको जनाउने गरेको छ ।
लुम्ले सहितका क्षेत्रमा अति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले त्यस क्षेत्रका नागरिकहरूको ‘मोबाइल फोन’ मा आइतबार बिहान पाँच बजे नै ‘एसएमएस अलर्ट’ जारी गर्दै सतर्कताका लागि अनुरोध गरेको छ । बिहान पाँच बजेको अवस्थालाई जनाउँदै पछिल्लो एक घण्टामा लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्र भई बग्ने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाइराख्न भन्दै सूचना जारी भएको हो । बिहान पाँच बजेको तुलनामा बिस्तारै वर्षा कम हुँदै गएको भए पनि वर्षा रोकिएको भने छैन ।