साउन ५,पोखरा – कास्की प्रशासनले यहाँका पर्यटकीय गाउँहरु घान्द्रुक, लान्द्रुक, सिक्लेस र ताङतिङ जाने सडकमा रातको समय सवारी साधन चलाउन रोक लगाएको छ।
बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उक्त गन्तव्यमा जाने मोटरबाटो बाढी र पहिरोको जोखिम भएकाले रातको समय सवारी चलाउन रोक लगाएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभएको छ ।
उनका अनुसार कास्कीको विरेठाँटीदेखि उल्लेरी, घान्द्रुक, लुम्लेदेखि लान्द्रुक, पोखराको काहुँखोलादेखि सिक्लेस र ताङतिङ जाने बाटो निगरानीमा राखिएको छ। यी सडकबाट जाने सवारी साधन गन्तव्यका लागि साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ। पर्यटकीय गाउँहरु घान्द्रुक, सिक्लेस, ताङतिङ र लान्द्रुकबाट पोखरा वा अन्य गन्तव्यमा जाने सवारी पनि साँझ ५ बजेभित्र छुटिसक्नुपर्ने प्रशासनले जनाएको छ।
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर, घोरेपानी पुनहिल, मुल्डे भ्यु हुँदै खोप्रा र हिडनलेक जाने पदमार्गको प्रस्थानविन्दु हो भने सिक्लेसबाट कफुचे हिमताल र कोरी यात्रा गर्ने प्रस्थान विन्दु हो। अहिले मनसुनका बेलामा पनि पदमार्गमा पर्यटकहरु जाने गरेका छन्।