साउन १८,पोखरा – तनहुँको आँबुखैरेनी ऐना पहरामा यात्रुवाहक बस दुर्घटना भएकाे छ । बस दुर्घटना हुँदा ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिनुभयाे ।
घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूलाई आँबुखैरेनी अस्पताल पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।
आज गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस मर्स्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
बसमा कति जना थिए भन्ने यकिन नभएकाेले अन्य पनि हुन सक्ने आशङ्कामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयाे ।