भदौ २३,पोखरा – जेनजीको प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले पोखराको मिलनचोक देखि फिष्टेलगते,मालपोत कार्यालय हुदै राष्ट्रबैंक चोकसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध पोखरामा पनि जेन-जी पुस्ता सडकमा उत्रिएका छन् ।
पोखराको सभागृह चोकमा बिहान ९ बजेदेखि प्रदर्शन सुरू भएको हो । प्रदर्शनकारीहरू सभागृहबाट चिप्लेढुंगा मानवअधिकार चोक पुगेर प्रदर्शन गरेका थिए ।
सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूह सडकमा उत्रेको हो ।
उता,काठमाडौंको सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।