असोज ६ ,पोखरा – पोखरामा तेल चोरेर पानी बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल (पाल्म आयल)ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । सीजी आयल एण्ड डेरिभेटिभ्स प्रालिबाट खरिद गरेर ल्याउनुपर्ने तेलको सट्टा पानी भरेर ल्याउने बारा सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जका ३५ वर्षीय कविराज गौतम, सोही स्थानका ४९ वर्षका शम्भु भनिने छविनाथ गौतम र ३७ वर्षका बुद्धिबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ना ५ ख ७७०८ नम्बरको ट्रकबाट तेल चोरी गरी बिचमै बिक्री गरेका थिए । तेल चोरी गरेपछि तौल मिलाउनका लागि जर्किनमा पानी भरेर राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट पानी भरेको १८ थान पहेँलो जर्किन र १३ हजार रुपैयाँ बरामद गरिएको बस्नेतले बताउनुभयो । उनीहरुविरुद्ध चोरीसम्बन्धी कसुरमा १० दिनको म्यदा थप गरी अनुसन्धान अघि बढाएको उहाले बताउनुभयो ।