मंसिर ७,पोखरा – प्रदेश सरकारको बेवास्ताका कारण जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ। प्रदेश सरकारले स्त्री तथा प्रसूतिरोग विशेषज्ञका लागि पहल नगर्दा सेवा प्रभावित भएको हो।
अस्पतालको तथ्याङ्कअनुसार वार्षिक १२० देखि १५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन्। यसबाट म्याग्दी, मुस्ताङसहित पर्वतको जलजला, बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्।
जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता सृजना भएको हो। प्रसूति ब्यथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्याउनुपर्ने अवस्था आएको गुनासो अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गरे।
‘विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने जनाउँदै पठाएपछि बागलुङ लैजान बाध्य भएँ’, उनले भने, ‘प्रसूति सेवाका लागि जिल्लाबाहिर जानुपर्दा समय र आर्थिक भार बढेको छ ।’ गुरुङले श्रीमतीलाई प्रसूति गराउन बागलुङ लैजानु परेको गुनासो गरे।
केही वर्ष अगाडि धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवतीको बेनीमा सफल शल्यक्रिया भएको थियो । बेनी अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए।
‘प्रदेशको स्वास्थ्य मन्त्रालयमा समस्याका बारेमा जानकारी गराए पनि हालसम्म चिकित्सक आएका छैनन्’, उनले भने। ‘निक साइमन इस्टिच्युट’को सहयोगमा २०७१ सालदेखि बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा सुरु भएको थियो । दाताको कार्यक्रम सकिएपछि यो कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ ।
जनशक्ति अभावमा हाल हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द भएको छ । गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकारमातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पताल नेतृत्वविहीन भएका हुन् ।