मंसिर १३,पोखरा – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतदान केन्द्र र म्यादी प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया शुरू गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् ।
यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता देखिएसँगै जिम्मेवार निकाय तयारीमा जुटेका हुन् ।
गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले चुनाव सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभयो । नयाँ मतदाताको सङ्ख्यालाई आँकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उहाँले जानकारी दिनुभयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने बताउनुभयो ।