चैत ३ , पोखरा – पोखराका विभिन्न खाजाघरमा महिलालाई प्रलोभनमा पारी यौनजन्य गतिविधिमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित जाल्पा रोडको एक खाजाघरबाट ४ जना महिलाको उद्धार गर्दै सो कार्यमा संलग्न दुई पुरुषलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका १४, चाउथे बस्ने २४ वर्षीय राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई हाल पोखरा १, बगर बस्ने २८ वर्षीय खेमु थापा रहेका छन् ।
उनीहरुले आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो तलब र खानबस्ने सुविधासहित होटलमा काम लगाइदिने प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरुले महिलालाई सुरुमा होटलको काममा लगाउने र केही समयपछि होटलमा आउने पुरुषबाट रकम लिएर उनीहरुलाई जबरजस्ती रात बिताउन र अनैतिक कार्य गर्न लगाउने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका शाह र थापालाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।