चैत्र २७ , पोखरा – चैत्र २७ , पोखरा–मुग्लिन सडकको सेती पुलदेखि तनहुँको जामुनेसम्म विस्तार भइरहेको सडक आयोजनाले उल्लेखनीय गति लिएको छ। हालसम्म कुल काममध्ये करिब ७७ प्रतिशत भौतिक प्रगति र ६२ प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ।३८.७१ किलोमिटर लामो सडकखण्डमध्ये ३७.२८ किमीमा कालोपत्र भइसकेको छ भने सर्विस लेन निर्माण पनि तीव्र रूपमा अघि बढिरहेको छ। यस वर्षमात्र ३३.७८ किमीमा अस्फाल्ट प्रविधिबाट दोस्रो तहको कालोपत्र भएको हो । कुल ३६.३२ किमीको सर्विस लेनमा झन्डै ५० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चरणको कालोपत्र ९६.३ प्रतिशत सम्पन्न भएको हो ।
सडक खण्डमा १३ मध्ये १२ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्, भने सेती पुल ‘केबल–स्टेड’ प्रविधिमा आकर्षक डिजाइनसहित निर्माण भइरहेको छ । आयोजना कार्यालयका अनुसार सेती पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको छ । पुल निर्माणका लागि गरिएको ठेक्काको सम्झौता अवधि गत भदौमा सकिएपछि आगामी वैशाखसम्म म्याद थप भएको छ ।
हाल सडकमा ‘रोड मार्किङ’, ‘सेफ्टी ब्यारीअर’ जडान तथा बाँकी कालोपत्रका काम भइरहेका छन्। चार लेन र छ लेन गरी सडक विस्तार भइरहेको यस आयोजनाले यस वर्ष उल्लेखनीय प्रगति हासिल गरेको योजना प्रमुख, इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । चार लेन सडकतर्फ पोखरा विश्वविद्यालय अगाडिको क्षेत्रमा एक सय मिटर तथा विजयपुर पुल आसपासमा चार सय मिटरमात्र कालोपत्र गर्न बाँकी रहेको कुँवरको भनाइ छ ।
यस खण्डमा सडक विस्तार तथा स्तरोन्नतिको काम चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले गरिरहेको छ ।