बैशाख ३ , पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । आज बसेको रास्वपा संसदीय दलको बैठकले दुई संयुक्तसहित प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।
रास्वापाले कानून, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाललाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, संसदीय सुनुवाइ समितमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । लोकतान्त्रिक सन्तुलन र नियन्त्रणका लागि संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने संसदीय परम्परा रहेको छ । तर यसअघि कांग्रेस र एमालेले लेखा समितिको सभापति आफैँ राखेको भन्दै आलोचना भएको थियो ।
यसैबीच लेखा समिति सभापतिमा कांग्रेसलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सघाउने भएका छन् । आज नै तीन दलको संयुक्त बैठक बसेको थियो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता र भोलि चुनाव हुँदैछ ।