साउन १९ , पाेखरा – पोखरामा सवारी नियम उल्लंघन गर्ने विभिन्न ९ विद्यालयका सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार स्कुलका सवारी साधनलाई लक्षित गरी गरेको विशेष चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् । सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान चलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केईएफ स्कुल र प्राइम मन्टेश्वरीका सवारी चालक कारबाहीमा परेका छन् । सगरमाथा बोर्डिङ स्कुल र इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयका चालकलाई पनि नियमानुसार कारबाही गरिएको छ । आमा एकेडेमी, बिन्ध्यश्वरी माध्यमिक विद्यालय र पोखरा दिप मन्टेश्वरीका चालकले पनि नियम उल्लंघन गरेको पाइएको छ । त्यसैगरी फुलबारी मन्टेश्वरी र बेस बोर्डिङ स्कुलका सवारी चालकलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याएको छ ।
‘सवारी नियम उल्लंघन विरुद्धको कारबाहीलाई प्रभावकारी बनाउन र सम्भावित दुर्घटना कम गर्न स्कुलका सवारीमाथि निगरानी बढाइएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीमा भनिएको छ । कार्यालय र मातहतका इकाइहरुबाट स्कुलका सवारीलाई लक्षित गरी यो चेकजाँच गरिएको हो । नियम विपरीत सवारी चलाउनेलाई कानुन अनुसार कारबाही गर्ने प्रक्रियालाई निरन्तरता दिइने प्रहरीले बताएको छ ।
यसअघि पनि ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने सवारी साधनको अवस्था र चालकको सजगताका विषयमा पटकपटक अनुगमन गर्दै आएको थियो । स्कुलका गाडीहरुले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने र ट्राफिक नियम पालना नगर्ने गुनासो आएपछि चेकजाँचमा कडाइ गरिएको हो । कारबाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ ।