कार्तिक २८, पाेखरा – आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको नेपाल माैसम विज्ञान विभागकी मौसमविद् अनिषा निरौलाले जानकारी दिएकी छन् ।
निरौलाका अनुसार तराई क्षेत्रमा आगामी बिहीबारसम्म थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। तराईमा आगामी साताभर वर्षाको सम्भावना देखिएको छैन ।पहाडी भेगमा भने केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ। आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अर्थात् १० देखि ३० प्रतिशत भूभागमा मध्यमसम्मको वर्षा हुन सक्ने मौसमविद् निरौलाले बताइन् । यस्तै शनिबार तथा बुधबार र बिहीबार पनि पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थान अर्थात् करिब १० प्रतिशत भूभागमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । हिमाली भेगमा पनि केही दिन वर्षा र हिमपातको सम्भावना रहेको छ । आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने निरौलाले जानकारी दिइन् ।
यसैगरी, शनिबार तथा बुधबार र बिहीबार पनि ती प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।