माघ ११,पोखरा – पर्वतस्थित कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार बुधवार साँझ जलजला गाउँपालिका–८ नाग्लीवाङको खनियाघाटमा कालीगण्डकी नदीको बिच भागमा शव फेला परेको हो । करिब ५०÷५२ वर्ष उमेरका ती पुरुषको कुनै पनि पहिचान खुल्न नसक्दा शव जिम्मा लगाउन नसकिएको प्रहरीले बताएको छ ।
गहुँगोरो वर्ण, पाँच फिट छ इन्च उचाइ, सेतो फुलेको तथा छोटो कपाल भएका,सानो सेतो टुपी पालेका उनको कसैले पहिचान गर्न सक्ने भएमा प्रहरीमा खबर गर्न वा परिवारलाई जानकारी गराउन पर्वत प्रहरीले अनुरोध गरेको छ । शवको लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी प्रदेश अस्पताल (पर्वत) को शव गृहमा राखिएको छ ।
sambridhaonline
माघ ११,पोखरा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आज साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धु्र्वप्रसाद शर्माले जानकारी दिए ।
खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उनले बताए । आगलागीबाट छिरिङको दुईवटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए ।
त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठवटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको जानकारी प्राप्त भए लगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो ।
माघ १०,पोखरा-स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गोठका चौपायाहरुलाई कुँडो पकाउने क्रममा आगलागी भएको बताइएको छ ।
आगलागीबाट स्थानीय सुर्य प्रसाद पौडेलको दुई तले जस्ताको छानो भएको गोठमा रहेका चौपायाहरुमा क्षति पुगेको र अन्दाजी २० भारी पराल जलेर नष्ट हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
आगो नियन्त्रणमा लिइसक्दा घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । आगलागीमा परी एउटा भैंसी, एउटा भैंसीको पाडो, दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको छ ।
माघ १०,पोखरा – कास्कीको पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आईटी महोत्सव शुरू हुँदैछ ।
नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा व्यापार मेलासँगै १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल एक्सपो–२०२५ आयोजना गरिएको छ ।
‘लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ नाराका साथ आयोजना भएको मेलामा औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवर्द्धन तथा बजारीकरण, अन्य प्रदेशका निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यास, आवश्यक सहकार्य र गण्डकीमा लगानी आकर्षित गर्ने उदेश्य रहेको आयोजक पोखरा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनको प्रदर्शनी, औद्योगिक उत्पादन, घरायसी सामान, कम्प्यूटर र मोबाइल, पुष्प प्रदर्शनीलगायत रहेका छन् ।
गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगको उत्पादन, रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी, प्रविधि र अरु ठाउँमा भइरहेका असल अभ्यासलाई समावेश गर्ने सक्दो प्रयास गरिएको आयोजकले जनाएको छ ।
मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुभयो । सङ्घका महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे पनि छलफल हुनेछ ।
प्रचार–प्रसार संयोजक तथा सङ्घका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स (एआई), उन्नत सीसी टीभी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् । मेला आउँदो २१ गतेसम्म चल्नेछ ।
माघ ०९,पोखरा- रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ।
उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो। मरासिनीका अनुसार आज उहालाई परिवार र कानुन व्यवसायीको जिम्मामा भोलि उपस्थित हुने गरी छाड्न आदेश भएको छ।
सुप्रिम सहकारीको बचत ठगी आरोपमा उनीलगायत विरुद्ध रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ।
माघ ०९,पोखरा – सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा १६ लाख ८८ हजार ७६८ किशोरीहरूलाई एचपीभी खोप दिन लागिएको जनाएको हो । कार्यक्रममा टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताए । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको उनको भनाइ छ । विश्वभर हरेक वर्ष तीन लाख ११ हजार महिला महिलाको मृत्यु क्यान्सरका कारण हुने गरेको अनुमान छ । सन् २०३० सम्म त्यो सङ्ख्या चार लाख पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय परिचयपत्र नागरिक एपमा उपलब्ध, विभिन्न सेवामा प्राविधिक परीक्षण चल्दै
माघ ०९,पोखरा – नागरिक एपमा राष्ट्रिय परिचयपत्र उपलब्ध हुन थालेको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि हिजोदेखि परिचयपत्र एपमा राखेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेढाईले जानकारी दिनुभयो । अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र नागरिक एपमा हेर्न सकिने उहाँले बताउनुभयो ।
नागरिक एपभित्र नेशनल आईडी अप्शनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । हिजोमात्रै एक हजार जनाभन्दा धेरैले नम्बर राखेर राष्ट्रिय परिचयपत्र हेरेका छन् । अहिले झन्डै ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन् । यस्तै राष्ट्रिय परिचयपत्रका लागि एक करोड ६५ लाख जनाले आवेदन दिएकामा एक कराेड ६१ लाख जनाले नम्बर प्राप्त गरेका छन् । नम्बर पाइसकेका नागरिकले छापिएर आएको राष्ट्रिय परिचयपत्र भौतिक रूपमा नलिइकन राहदानी, टेलिकमको सिम, बैंक खातालगायत सरकारले दिने डिजिटल सेवा लिन सक्नेछन् ।
निर्देशक सेढाईका अनुसार अहिलेसम्म राहदानी, निवृत्तिभरण तथा सामाजिक सुरक्षा भत्ता वितरण एवम् नयाँ बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र प्रयोग भइसकेको छ ।
बागमती प्रदेशमा चालक अनुमतिपत्र लिँदा पनि राष्ट्रिय परिचयपत्रसँग त्यसलाई आबद्ध गर्नुपर्ने नियम लागू भइसकेको छ । तीबाहेकका अरू सेवाहरूमा पनि राष्ट्रिय परिचयपत्रलाई आबद्ध गर्ने काम थालेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा कोष, स्वास्थ्य बीमा बोर्ड, आन्तरिक राजस्व विभाग र नेपाल क्लियरिङ हाउससँग पनि प्राविधिक परीक्षण गरिएको छ ।
माघ ०८,पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा आफूविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएपछि मंगलवार रुपन्देही आइपुगेका छन्।
रास्वपाका सह-कोषाध्यक्ष दीपक बोहोराका अनुसार उनी मंगलवार दिउँसो बुद्ध एयरको जहाजबाट भैरहवा आएका हुन्। उनी भोलि (बुधवार) अदालतमा उपस्थित हुने तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अरु केही नेता र उनी पक्षका कानून व्यवसायी भने केही दिनअघि नै रुपन्देही आइपुगिसकेका छन्। उनी पक्षका कानून व्यवसायीहरुको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपाने पनि भैरहवा आइपुगेका छन्।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतवार मुद्दा दायर भएको थियो।
कास्की र काठमाडौँ जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भएका थिए। सह-कोषाध्यक्ष बोहोराका अनुसार बुधवार उनी भैरहवा जिल्ला अदालतमा आफैँ उपस्थित हुने छन्।
उनीसहित २२ जनाविरुद्धको अभियोगपत्रमा ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दावी गरिएको छ। लामिछानेसँग व्यक्तिगत २ करोड रुपैयाँ पनि बिगो दावी गरिएको छ। सरकारी वकिलको कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरिएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीका विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए।
यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो। त्यतिबेला लामिछाने स्वयं गृहमन्त्री रहेका थिए। गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थिएन।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको बताए।
सरकारी वकिल कार्यालयका अनुसार सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकाविरुद्ध मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइएको छ।
सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड रुपैयाँ अपचलन भएको अनुसन्धानले देखाएको छ।
माघ ०८,पोखरा – स्याङ्जाको चापाकोट नगरपालिका – ८ दामाचौरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । घरको गोठमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको बताइएको छ ।
आगलागीबाट स्थानीय देविलाल न्यौपानेको दुई तले जस्ताको छानो भएको गोठमा रहेको अन्दाजी १०० भारी पराल जलेर नष्ट हुँदा करिब एक लाख पच्चीस हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
आगो नियन्त्रणमा लिइसक्दा घटनामा कुनै मानवीय तथा चौपायामा क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
माघ ०८,पोखरा – तनहुँको बेलभन्ज्याङमा बिहान भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने आमा छोरा रहेको खुलेको छ ।
दमौलीबाट डुम्रेतर्फ गइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा रिसिङ गाउँपालिका वडा नं. ६, चालिसे घर भई व्यास नगरपालिका ५ पाटन बस्ने वर्ष १९ का मोटरसाइकल चालक सन्दीप आले र मोटरसाइकल पछाडि सवार उनकी आमा वर्ष ४० कि मधुमाया आले रहेको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल दुईवटा साना पुलको बीचमा खस्न पुगेको थियो । चालकले नियन्त्रण गुमाउँदा बायाँ साइडतर्फ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।