असार ३०,पोखरा – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो भएको दुर्घटनामा पछाडि बस्ने महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकमा रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा व्यास नगरपालिका-१२ छिर्कने बस्ने अन्दाजी २८ वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो। दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताउनुभयो ।
दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णमाया पन्त गम्भीर घाइते भएकी छन् । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ ।