फाल्गुन १२,पोखरा – कोटीहोम नरोक्न भन्दै उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै पोखरा महानगरपालिकाले साेमबार भ्याकेट निवेदन दर्ता गराएको छ । पोखराको लेकसाईडमा गर्न लागिएको कोटिहोम महायज्ञ पोखरा महानगरपालिकाले रोक्न खोजेको भन्दै महायज्ञ आयोजक मानव सेवा फाउण्डेशन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले फागुन १ मा अन्तरिम आदेश दिँदै महायज्ञ नरोक्न भनेको थियो ।
त्यो आदेश वेरितको भन्दै पोखरा महानगरले आज सोमबार सो आदेश रद्द गर्न निवेदन दिएको हो । निवेदनमा लेकसाइडमा के कारणले महायज्ञ आयोजना गर्न उपयुक्त छैन भन्ने कुरा उल्लेख गर्दै स्थानीय सरकारले सो स्थानमा महायज्ञ गर्न स्विकृति नदिनुका कारण उल्लेख गरिएको छ । निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिनभित्रै तालको सिमांकन गर्न सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ हुन नसक्ने जिकिर गरिएको छ ।