कार्तिक २५, पोखरा – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका मनाइएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा धेरैले भाइटीका लगाएका छन् भने समय अनुकूल बनाएर बिहानदेखि बेलुकासम्म नै भाइटीका लगाउने काम भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।