माघ १७ , पोखरा – आज कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ती क्षेत्रका एक÷दुई ठाउँमा छिटपुट वर्षाको पनि हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । तराइका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । गएको मङ्गलबार र बुधवार देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपातले प्रभावित भएको जनजीवन भने सामान्य बनेको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले धेरै ठाउँमा घाम लागे पनि बिहान बेलुका भने चिसो नै रहेको हुँदा जोगिन आग्रह गर्नुभएको छ ।
समाज
माघ १४ , पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि कास्की जिल्लामा २ हजार २ सय ९९ जना म्यादी (निर्वाचन) प्रहरी छनोट भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की अन्तर्गतको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले मंगलबार अन्तिम नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी दुई समूहमा विभाजन गरेर जनशक्ति छनोट गरिएको छ ।
समितिले नेपाल प्रहरीतर्फ खटाउने गरी २ हजार ८ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ खटाउने गरी २ सय ९१ जना मुख्य उम्मेदवार छनोट गरेको छ । यसरी कास्कीमा २ हजार २ सय ९९ जनाले म्यादी प्रहरीको रूपमा निर्वाचनमा खटिने अवसर पाएका छन् ।
यस्तै, समितिले केही उम्मेदवारहरूलाई वैकल्पिक सूचीमा राखेको छ । प्रकाशित नतिजा अनुसार योग्यताक्रमका आधारमा २ सय १२ जना लाई वैकल्पिक उम्मेदवारका रूपमा छनोट गरिएको छ । मुख्य उम्मेदवारहरू अनुपस्थित भएको खण्डमा वा अन्य कारणले कोटा रिक्त भएमा वैकल्पिक सूचीबाट पदपूर्ति गरिनेछ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालका अनुसार छनोट प्रक्रियाका सबै चरण (शारीरिक तन्दुरुस्ती, लिखित तथा अन्तर्वार्ता) उत्तीर्ण गरेका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको हो ।
प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु
माघ १३ , पोखरा – आउँदो फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ शुरु भएको छ । आवश्यक झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अबको १५ दिनभित्र मतपत्र छपाइको काम सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । आउँदो फागुन ५ गतेभित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने उहाँले जानकारी दिनुभयो ।
यसअघि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सकिएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिकतर्फ आवश्यक २ करोड ८ लाख ५० हजारभन्दा धेरै मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
माघ १२ , पाेखरा – आज रातिदेखि मौसम बदली भएर भोलि र पर्सि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिदेखि नै पश्चिमी भेगबाट बादल लाग्न शुरु भइ भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका मौसमविद् सन्दीप अधिकारीका अनुसार भोलि पश्चिमी तराईका केही ठाउँमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । यो प्रणाली पर्सि बुधवारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिने र धेरै ठाउँमा हल्का वर्षा र हिमपात हुने अनुमान छ ।
काठमाण्डौ उपत्यकामा पनि पर्सि बुधवार पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । पर्सि बुधवार बेलुकीदेखि मौसममा सुधार आउनेछ । यसअघि गएको शुक्रवार र शनिवार पनि मौसम बदली भएर पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात भएको थियो ।
आज दिनभर कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र गण्डकीका बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।
माघ १० , पोखरा – देशका पश्चिमी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुम्लामा हिमपात भएको छ ।
गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् । हिमपात भएसँगै नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँहरुमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा मध्यम हिमपात र वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
अहिले पश्चिमी वायुको प्रभावले मौसम बदली भएको र भोलिसम्म केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
माघ ९ , पाेखरा – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा शुक्रबार दिउँसो भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुचौपारी गाउँपालिका ६ तमाखुबारी बस्ने ५५ वर्षीय देउ बहादुर ढकालका छोरा २८ वर्षीय शोभाकान्त ढकाल रहेको जिल्ला प्रहरीले स्याङ्जाले जनाएको छ ।
घरबाट घाँस काट्न जान्छ भनी हिडेका ढकाल मौरीभिरबाट अन्दाजी १५० मिटर तल खस्दा घटनास्थलमा मृत्यु भएको हो । प्रहरीले मृतक लास पोष्टमार्टमको लागि प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा पठाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माघ ९ , पाेखरा – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्न सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ ।
आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु गरे राम्रो विद्या प्राप्त हुने मान्यता रहेको छ । विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ । तान्त्रिकहरू भने तारादेवीका रूपमा आराधना गर्छन् ।
सूर्य उत्तरायण लाग्ने र दिन लामो हुँदै जाने विश्वासका कारण आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता कार्य साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म गर्न नहुने मान्यता छ ।
बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने कायमै छ । काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि विशेषगरी विद्यार्थीहरूको भीड लागेको छ ।
हनुमानढोका दरबारको नासल चोकमा आज वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुहुनेछ । वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक अङ्गका प्रमुख, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । कार्यक्रमका लागि सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
यसैबीच महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्तपञ्चमी) लाई कृषि नववर्षको रूपमा मनाउने परम्परा छ । मिथिला मुख्यतया कृषिप्रधान क्षेत्र भएकाले यस पर्वलाई किसानका लागि नयाँ वर्षको शुरुआत मानिन्छ । यस दिन किसानले कृषि श्रमिक र लोहार वरण गर्ने, हलो जोत्ने, कृषि औजार पूजा गर्ने तथा बीउ छनोट, शुद्धीकरण र भण्डारण गर्ने चलन छ ।
यससँगै वर्षभरि राम्रो खेतीपाती होस् भन्ने कामना गरिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु शुरु हुने र मौसम खेतीका लागि अनुकूल बन्ने विश्वास पनि रहेको छ । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको अनिश्चितता, युवा श्रमिकको पलायन र सरकारी सहयोगको अभावका कारण परम्परागत अभ्यास कमजोर बन्दै गएको किसानहरू बताउँछन् । मिथिलामा हरियाली र सम्पन्नताको प्रतीक मानिने यो पर्व संरक्षण र सहजीकरणको आवश्यकता देखिएको छ ।
माघ ८, पाेखरा – भोलिदेखि नेपालमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि रातिदेखि पर्सि शनिवार बेलुकासम्म विशेष गरेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
वरिष्ठ मौसमविद् पौडेलकाअनुसार यही माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ । यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरूमा सामान्य वर्षा र उच्च हिमाली भूभागहरूमा मध्यम खालको हिमपात भएको थियो ।
अहिले देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । भोलिदेखि आउने प्रणालीले हुस्सु लागिरहेका तराईका जिल्लामा हुस्सु हट्नुका साथै वायु प्रदूषण पनि घटाउने मौसमविद्ले बताएका छन् ।
यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुनुका साथै तापक्रम औसतभन्दा माथि रहेको छ ।
सुनचाँदीको भाउमा कीर्तिमान : सुन आज तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो
माघ ६ , पाेखरा – सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदी पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
माघ १,पोखरा – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने चलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गएको वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।