चैत १७,पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य विमा काउन्टरमा अनियमितता भएको पुष्टी भएको छ । विशेष गरी स्वास्थ्य बिमा काउन्टरमा बिमातर्फका सेवाग्राहीले तिरेको रकम राती राती फिर्ता गरिएको सार्वजनिक भएपछि प्रतिष्ठानले गठन गरेको छानविन समितिको प्रतिवेदनले ६ कर्मचारी मुख्य दोषी ठहर गरेको छ ।
शाखा अधिकृत सुशीलकुमार अर्यालको नेतृत्वमा गठित ३ सदस्यीय छानविन समितिको प्रतिवेदन अनुसार गत साउनदेखि यता स्वास्थ्य बिमा गरेका बिरामीबाट लिइएको १० प्रतिशत रकम काउन्टरका कर्मचारीले बिरामीलाई नै फिर्ता गरेको भन्दै आफै राख्ने गरेको भेटिएको हो । यसले अस्पताललाई ६० लाख रुपैयाँ घाटा भएको र कर्मचारीले त्यसको १० प्रतिशतले हुन आउने रकम ‘फिर्ता’ का नाममा आफै राखेका हुन । ६ मध्ये एक जना कर्मचारीले मात्रै अस्पताललाई ५१ लाख रुपैयाँ घाटा पुराएको प्रतिवेदनले औंल्याएको छ । छानविन समितिमा लेखा अधिकृत हेमन्त ढकाल र आइटी अफिसर दिपक केसी रहेका थिए । बिमाको सेवा नलिएको भन्दै रकम फिर्ताका नाममा कर्मचारीले अपचलन गर्दा अस्पतालले ९० प्रतिशत रकमको बिमा दाबी गर्न नपाउँदा घाटा ब्यहोर्नु परेको हो ।
अस्पतालका निर्देशक प्रा.डा भरतबहादुर खत्रीले ६ कर्मचारी दोषी देखिएको बताए । तर दोषी कर्मचारीको नाम र प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । दोषी कर्मचारीलाई आर्थिक कारोवारको जिम्मेवारीबाट हटाइएको छ । उनीहरु अस्पतालको सामाजिक सेवा इकाइको साझेदार संस्था आइएनएफबाट खटिएका सहजकर्ता हुन । इकाइमा १४ जना सहजकर्ता कार्यरत छन् ।