चैत २७,पोखरा – गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार राती १२ बजेदेखि लागु हनेगरि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयको प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिनुभयो ।
माघ २१ गते गते सुरु भएको हिउँदे अधिवेशनमा सरकार आफैले यसअघि ल्याएका तीनवटा ऐन खारेज गरेको छ । गत फागुन १२ गतेको मन्त्रिपरिषद बैठकले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्रदेश विज्ञान तथा प्रविधी प्रतिष्ठान र प्रदेश दुग्ध विकास बोर्ड ऐन खारेज गर्न केही गण्डकी प्रदेश ऐन खारेज गर्न बनेको विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चैत ११ गते प्रदेशसभामा दर्ता गराएको थियो । यो विधेयक चैत २२ गते बहुमतले पारित भएको छ ।
प्रदेश सरकारका तीन आर्थिक वर्षमा यी ऐनमातहतका संरचनामा साढे ६ करोड खर्च भएको छ । तर, अहिले आएर सरकारले खर्च घटाउने र औचित्य नदेखिएको भन्दै ती संरचना हटाउन अर्को ऐन पारित गरेको हो ।
यी मध्ये गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान खारेजीको विषयमा चौतर्फी आलोचनासमेत भएको थियो ।