जेष्ठ १७,पोखरा – शुक्रबारदेखि आन्दोलनरत यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज (शनिबार) पनि कालो प्लेटका (सार्वजनिक यातायात) सवारी साधन ठप्प पारेका छन् ।गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् । गण्डकी सरकारले आफुहरुलाई वार्ताका लागि नबोलाएकाले गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए ।
उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए । हामी वार्ताका लागि सधैं तयार छौ । यदी हाम्रो माग सुनुवाई भएन भने १९ गतेदेखि देशभर आँधीबेरी ल्याउछौ र त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ ।’नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।