साउन ११,पोखरा – माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि मौका परीक्षा तालिका समेत सार्वजनिक गरिसकेको छ।
परीक्षा तालिका अनुसार उक्त परीक्षा साउन २९ गतेदेखि सुरु भएर भदौ ६ गते सकिनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। यही मौका परीक्षाका लागि अहिले तीव्र तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक तारानाथ निरौलाले जानकारी दिए। ‘एसइई मौका परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न आवश्यक तयारी भइरहेको छ,’उनले भने।
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरु भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। उक्त परीक्षामा एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए। सबै विद्यार्थी परीक्षामा भने सहभागी भएनन्।
बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबै गरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएको जनाएको छ। परीक्षा बोर्डले यो परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गर्याे। ०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भए।
नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी छन्।
त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जीपीए ल्याउने आठजना परीक्षार्थी छन्।
एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भएका छन्। गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो वर्ष गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी फेल भए। यी विद्यार्थीहरूले मौका परीक्षा दिँदै छन्।