सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home Featured News गण्डकी प्रदेश सरकारलाई अमृत जोशी स्मृती प्रतिष्ठानको झापड

गण्डकी प्रदेश सरकारलाई अमृत जोशी स्मृती प्रतिष्ठानको झापड

सरकारले नदेखेको जोखिमयुक्त पुल अमृत जोशी स्मृती प्रष्ठिान जुट्यो मर्मतमा

by sambridhaonline

जिर्ण बनेको एक वर्षसम्म मर्मत हुन नसकेको दोबिल्ला–फलेवास सडकखण्डको दोबिल्लास्थीत मोदीखोलाको मोटरेबल पुलमा गण्डकी प्रदेश सरकारको आँखा नपरेपछि यतिबेला पर्वतकै सामाजिक एवं राजनीतिक अगुवा स्वर्गिय अमृत जोशी स्मृती प्रतिष्ठानले मर्मतकार्य शुरु गरेको छ ।


पुलमा गुडिरहेको अवस्थामा सवारीका टायर नै भ्वाङबाट पुलभित्र छिर्दा समेत पुलको मर्मतमा कसैको चासो नरहेपछि पर्वत जिल्लाको विकासको लागि सङ्घर्ष गरेका स्वर्गीय समाजसेवी अमृत प्रसाद जोशीको स्मृतिमा स्थापना भएको अमृत जोशी प्रतिष्ठानले पुलको मर्मत कार्य सुरु गरेको हो ।
आम सर्वसाधारणले सामाजिक सञ्जालदेखि चिया गफमा समेत गण्डकी सरकारले लाखौं सर्वसाधारणले समस्या भोग्दैआएको पुल मर्मतमा चासो नदिएर पितृका नाममा मात्रै बजेटको खोलो बगाएको भन्दै सरकारको चर्को आलोचना गरिरहेका छन् । मानविय आवश्यकताका क्षेत्रमा सर्वसाधारणले कैयौंपटक नेतृत्वको ध्यानाकर्षण गराउँदा समेत आवश्यकता नठानेर सरकार प्रमुख र मन्त्रीहरुले आफ्नै पितृका नाममा खोलिएका ट्रष्ट तथा कोषका लागि करोडौं रकम बिनियोजन गरेकै बजेटमा विगत केहि वर्षदेखि अत्यन्तै जिर्ण अवस्थामा रहेको दोबिल्लास्थीत मोटरेवल पुलको मर्मतका लागि भने मुख्यमन्त्रीदेखि मन्त्रीहरुसम्मको समेत ध्यान जान सकेन ।
२०५६ सालमा ट्रयाक खुलेको दोबिल्ला–फलेबास सडकमा करिव दुई वर्षसम्म अस्थाई काठे पुलमा सवारी आउजाउ गदैआएका थिए । पर्वतको करिव दुई तिहाइ बस्ती समेट्ने मुख्य सडकका लागि २०६३ सालमा यो दोबिल्लास्थीत मोदीखोलामाथि पुलको डिजाइन गरिएको हो । शुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताहरुले दबाब दिएका थिए । केहि समयका लागि भन्दै तत्कालिन जिल्ला विकास समितिले बेलिबृज शैलीमा स्टीलका पाता बिच्छाएर पुल निर्माण गरेको हो । यस्ता पुलमा बिछ्याइएका फलामे पाताको बढीमा पाँच वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा समस्या भएको स्थानीय जगत पराजुली बताउँछन् । अस्थाई प्रकृतिका लागि निर्माण गरिएको पुल नै डेढ दशकसम्म सवारी आउजाउका लागि माध्यम बनेको छ । यहि पुलको बाटो हुँदै दक्षिण पर्वत मात्रै नभएर स्याङ्जा, बागलुङ लगायत गुल्मी सम्मका सर्वसाधारणहरुले पोखरा र देशका अरु शहरसम्मको यात्रा गर्छन् । पुलबाट प्रत्यक्ष रुपमा एक लाखबढी जनसंख्या लाभान्वित छन् ।

Bastikhabar.com

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा सोही प्रतिष्ठानको नाममा रहेको सार्वजनिक पार्क तथा पिकनिक स्पटको व्यवस्थापनको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर प्रदेशका मन्त्रीहरूले आफू अनुकूलका प्रतिष्ठानहरूलाई करोडौं बजेट विनियोजन गर्दै ट्रस्ट तथा प्रतिष्ठानहरूलाई बजेट विनियोजन गरेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालदेखि बिभिन्न फोरमहरुमा तिब्र आलोचना गरिरहेका छन् । प्रदेशका मन्त्रीहरूले भन्दा पहिले नै जोशी प्रतिष्ठानले बजेट सार्वजनिक जग्गामा प्रयोग हुने भए पनि आलोचना र विवादकाबिच आउने बजेट नलिने भन्दै मुख्यमन्त्रीलाई बजेट फिर्ता लिएर प्राथमिकताको क्षेत्रमा प्रयोग गर्न अनुरोध गरेको थियो ।
मन्त्रीहरूले आफू अनुकूल बजेट विनियोजन गर्दा पनि जीर्ण अवस्थामा रहेको पुलको मर्मत हुन नसक्दा प्रतिष्ठान आफैले लगानी गरेर सवारी दुर्घटनाको जोखिम टार्नको लागि काम सुरु गरिएको प्रतिष्ठानका सचिव माधव पौडेलले बताए । ‘पुल छियाछिया हुँदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्नु दुःखद् पक्ष हो । यहाँका फलामे पाताहरू सबै उक्किएका छन्, नटहरू फुस्किएका छन्। गुडिरहेका सवारी कुन बेलामा मोदीमा पुग्नुपर्ने हो ठेगान नै छैन,’ उनले भने, ‘प्रतिष्ठानको काम नै सामाजिक सेवा हो । त्यसैले हामीले पुल मर्मतको काम शुरु गरिसकेका छौं । अमृत पार्कका लागि बिनियोजित बजेटका बारेमा प्रतिष्ठानलाई जोडेर सामाजिक सञ्चालनमा भएका टिप्पणीप्रति सबैले खेद जनाएका छन् । तीन जिल्लाका मान्छेले पिकनिक खाने पूजा गर्ने सार्वजनिक ठाउँमा रहेको पार्क व्यवस्थापनको काम प्रतिष्ठानले गर्दैआएको छ । उक्त बजेट व्यक्तिका लागि भन्दा पनि अमृतको नाममा रहेको उक्त पार्क आम सर्वसाधारणका लागि निर्माण गरिएको प्रतिष्ठानको दाबी छ ।
सचिव पौडेलका अनुसार प्रतिष्ठानले नै फलामका पाता, फलामका बीम, श्रमिक, ढुवानी लगायतको व्यवस्थापन गरेर पुलकको मर्मत कार्य मङ्गलवारदेखि थालेको हो । कुश्मा नगरपालिकाको समन्वयमा भइरहेको काम सक्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने र त्यसका लागि पाँच लाख रुपैयाँ भन्दा बढी खर्च हुने उनले बताए । पुलका पातामा कसिएका नट र पाताहरू कमजोर रहेको पाइएको लागत थप बढ्न सक्ने छ । अमृत प्रतिष्ठानका संरक्षक एवं अमृत जोशीका पुत्र नेपाली कांग्रेसका पुर्वकेन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले अमृत जोशीको नाम जोडिएको पार्क भए पनि उक्त पार्क सबैको साझा भएको दाबी गरे । ‘अहिले मध्यपहाडी राजमार्गलाई भूपि शेरचन मार्ग नामाकरण गरिएको छ । त्यो राजमार्गलाई बजेट बिनियोजन गर्दा भूपिको नाम आयो भनेर सबै हटाउने ?,’ अर्जुनप्रसाद जोशीले भने, ‘उसोभए त्यो भूपि शेरचन मार्ग भत्काइदिए भैगो । अमृत स्मृती पार्क भनेको पनि त्यस्तै हो । आम सर्वसाधारणको दैनिकी र आन्तरिक पर्यटनसंग अमृत स्मृती पार्क जोडिएको छ ।’ संरक्षक जोशीले उक्त पार्क अहिलेसम्म अमृत जोशी स्मृती प्रतिष्ठानले नै व्यवस्थापन, मर्मत र निर्माण गर्दैआएको र आगामी दिनमा पनि गर्नसक्ने दाबी गरे ।
दोबिल्ला पुलको व्यवस्थीत मर्मतका लागि जोशीको दबाब
यसअघि पनि दोबिल्ला पुलका विषयमा सम्बन्धित क्षेत्रमा निरन्तर खबरदारी र दबाब दिँदैआएका नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेटमा दोबिल्ला पुलका लागि सम्बोधन नगरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । उनले पटक–पटक उक्त पुल मर्मतका लागि दबाब दिँदा समेत बेवास्ता गरेकोप्रति आपत्ती जनाउँदै मुख्यमन्त्री पोख्रेल, शिक्षामन्त्री मेखलाल श्रेष्ठ, भौतिक पुर्वाधारमन्त्री कुमार खड्का लगायतलाई फोनमार्फत दबाब दिएको बताए । ‘त्यो पुलमा कुनै दुर्घटना भएर मान्छे तलमाथि भए तिम्रै कार्यालयअघिल्तिर ल्याएर तिम्रै कारणले दुर्घटना भएको हो भन्ने छन् भनेको छु,’ उनले भने ‘त्यो दुर्घटनाको दोशी मुख्यमन्त्री नै हुनेछन् । हामीले यत्रो दाबाव दिँदा पनि सम्बोधन नगरेर मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरुले ठुलो मुल्य चुकाएका छन् ।


जोशीले सार्वजनिक स्थलका लागि विनियोजन भएको बजेटलाई प्रतिष्ठानको स्वार्थको लागि मात्र खर्च गर्न खोजिएको बुझाई बाहिर आएका कारण आफूले त्यो बजेट रोकेर प्राथमिकताको क्षेत्रमा लगाउन अनुरोध गरेको नेता जोशीले बताए । पर्वतको उत्तर र दक्षिण क्षेत्रलाई जोड्ने महत्त्वपूर्ण रहेको दोबिल्ला पुल जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको ध्यान नपुग्नु दुःखको कुरा भएको बताउँदै उनले पुलका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग कुरा गरेको जानकारी दिए । भौतिक पूर्वाधार मन्त्री कुमार खड्कासँग कुरा गर्दा स्रोत खोजौँला भन्ने कुरा गरेको जोशीले बताए । उनका अनुसार शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नो ट्रस्टको लागि विनियोजित रकम मध्येबाट ५० लाख रुपैयाँ यस्तै काममा लगाउन मन्जुर भएका छन् । पुलको लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने कुरामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग पनि कुरा भएको नेता जोशीले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline