बिहिबार, साउन २, २०८२
Thursday, July 17, 2025
Home Featured News कुश्मानगरपालिकाभित्रका १३ जना विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप झण्डै चार लाख रूपैयाँ उपलब्ध

कुश्मानगरपालिकाभित्रका १३ जना विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप झण्डै चार लाख रूपैयाँ उपलब्ध

नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङका अनुसार २०७८ सालको एसइई परीक्षामा सामुदायिक विद्यालयबाट ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरूलाई उक्त रकम उपलब्ध गराइएको हो।

by sambridhaonline

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले नगरपालिकाभित्रका १३ जना विद्यार्थीका लागि छात्रवृत्ति स्वरूप झण्डै चार लाख रूपैयाँ उपलब्ध गराएको छ।
आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगर प्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति दिइएको हो। नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङका अनुसार २०७८ सालको एसइई परीक्षामा सामुदायिक विद्यालयबाट ३.६५ वा सो भन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीहरूलाई उक्त रकम उपलब्ध गराइएको हो।

अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूको थप अध्ययन अन्तर्गत कक्षा १२ सम्म सघाउनका लागि मासिक २५ सय रूपैयाँका दरले एक वर्षको रकम दिइएको हो। यससँगै प्रति विद्यार्थी ३० हजार रूपैयाँका दरले कुल तीन लाख ९० हजार रूपैयाँ निकासा दिइएको अधिकृत गुरुङले बताए।

यो सुविधा पाउनको लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने सर्त राखिएको थियो। सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले त्यसलाई निरुत्साहित गर्नको लागि कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो।

‘सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीलाई सहयोग होस, उसको अध्ययनमा थप उत्प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत भएको थियो। सोही अनुसार कार्यान्वयन हुन लागेको छ। यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नको लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ,’ उनले भने, ‘वर्षमा ३० हजार रूपैयाँ आउनु पनि विद्यार्थीको लागि राम्रो हो। कुश्मा नगरपालिकाका १८ वटा मावि बाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू भएको छैन। रकम थोरै भए पनि उनीहरूको थप अध्ययनमा यसले सघाउ पुग्ने छ।’

नगर सभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगर प्रमुख रामचन्द्र जोशी बताउँछन्। सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थीहरू गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागि मात्रै कार्यक्रम लागू गरिएको उनको भनाई छ। यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाई नसकिने बेला सम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगर प्रमुख जोशीले बताए।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने १३ जनामध्ये ११ जना सदरमुकाम कुश्मा बजारमा रहेको नमुना विद्यालय नारायण माध्यमिक विद्यालयका बिद्यार्थीहरू रहेका छन्। उनीहरू अभिषेक लामिछाने, आविष्कार पौडेल, सौगात लामिछाने, मुन्दीप भुसाल, केबल किशोर बास्तोला, सागरप्रसाद शर्मा, मानव पोखरेल, प्राची श्रेष्ठ, प्रसन्न श्रेष्ठ, निशा आचार्य र आशिष आचार्य रहेका छन्। यस्तै हिमालय माध्यमिक विद्यालयका रबिन सुनाम र शिवालय माध्यमिक विद्यालय कुश्माका सुप्रिम पौडेलले पनि छात्रवृत्ति पाएका छन्।

साभार सघन न्युज

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline