कुनै बेला यस्तो थियो, पृथ्वी राजमार्गको कृष्णभिर आइपुग्न लाग्दा काठमाडौं जाने, फर्कने यात्रुको मुटु थरथरी काँप्न थाल्थ्यो।
यो भिरबाट बर्खायाममा झरिरहने पहिरोले जनधनको ठूलो क्षति पुर्यायो। पहिरोले घन्टौं सडक अवरूद्ध बन्दा मान्छेको समय खेर गएको हिसाब त कति हो कति।
केही वर्षयता कृष्णभिरमा पहिरो खस्न छाडेको छ। यात्रुहरूलाई यो ठाउँ आइपुगेको, कटेको पत्तै हुँदैन।
उतिखेरको कृष्णभिरको जस्तो अवस्था अचेल नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्नेहरूको छ। बर्खायाममा यो सडकमा कुन ठाउँबाट पहिरो झर्छ थाहै हुँदैन।
पहिरो नझर्दियोस् भनेर प्रार्थना गर्दै यात्रा गर्नुको विकल्प पनि छैन। किनभने यो सडकको विकल्पमा गतिलो अर्को सडक नै बनेको छैन।
देशको पूर्व–पश्चिम भूभागलाई राजधानीसँग जोड्ने महत्वपूर्ण राजमार्गको विकल्प तयार नहुँदा बर्सेनि ठूलो क्षति व्यहोर्नुपरेको छ। यसपालि त सिमलतालमा माथिबाट झरेको पहिरो सहितको भेलबाढीले दुईवटा बसलाई एकैचोटी त्रिशूली नदीमा खसालिदियो। हराएको बस अहिलेसम्म भेटिएका छैनन्। हराएका यात्रूहरूको शव फेला पार्न पनि सकस भइरहेको छ।
नारायणगढ–मुग्लिन सडकको विकल्पमा अन्य सडक निर्माणका योजना नभएका भने होइनन्। कतिपय योजनाहरू अहिले पनि अघि बढिरहेका छन्। तर काम असाध्यै सुस्त भइरहेकाले कहिले निर्माण सकिन्छ भन्ने अनुमानसमेत गर्न सकिँदैन।
नारायणगढ–मुग्लिन सडकको विकल्प बन्नसक्ने एउटा महत्वपूर्ण मार्ग भण्डारा–मलेखु (चेपाङ मार्ग) हो।