असोज १० , पोखरा – देशभर अस्वभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।
बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले बिहीवार दिउँसोदेखि आइतवारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षासम्बन्धी जानकारी आफ्नो वेबसाइटमा राखिसकेको छ।
वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षाभन्दा फरक चरित्रको रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन्। विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटीय क्षेत्र र आसपासका राजमार्गमा पनि सरकारले हानि रोक्न बल प्रयोग गरी बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउनेसम्म गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत र सतर्क रहन विज्ञले सुझाव दिएका छन्।
साथै धान भित्र्याउने समय पनि भएकाले काटिसकेको धान बिहीबार दिउँसोसम्म थन्क्याउन र नकाटेको धान आइतवारसम्म यथास्थितिमै राख्न पनि सुझाव दिएका छन्।
त्यसैगरी अत्यावश्यक बाहेकको लामो यात्रा नगर्न पनी विज्ञले सुझाव दिएका छन्। वर्षाको प्रकृति र पूर्वसतर्कताबारे जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानि नोक्सानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधारण पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
डा. धर्मराज उप्रेती:- 
मौसम विज्ञान विभागले ५६ वटा जिल्लामा वर्षाको रेड अलर्ट जारी गरेको छ। भारी वर्षाले बाढी, पहिरो र डुबान हुने भएकाले सम्बद्ध सबै सचेत हुनुपर्ने अवस्था छ।
जमिनमा पानीको मात्रा (सेचुरेसन) पुगिसकेको अवस्थामा ठूलो पानी पर्यो भने ठूलो पहिरो जानसक्ने, त्यसले नदी थुनिन सक्ने, ड्याम बन्नसक्ने र ड्याम फुट्दा तल्लो तटीय क्षेत्रमा असर पुग्नसक्छ।
जल तथा मौसम विज्ञान विभागसँग १०/१० मिनेटमा कुन ठाउँमा कति पानी पर्यो भन्ने तथ्यांक हुन्छ। यदि लगातार ६ घण्टामा पानीको मात्रा बढ्दै गयो भने नदी तटीय क्षेत्रमा फोर्स इभ्याकुएन (सरकारी निकायले हानि नोक्सानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था) गर्नुपर्ने अवस्था पनि आउनसक्छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १ सय मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ।