असोज १८,पोखरा – पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।
पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवर्द्धन गर्ने उद्धेश्य कार्यक्रमले लिएको छ । महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा आयोजकको छ ।
महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योग विज्ञहरुको जमघट हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछ । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ताहरु गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञहरुबाट योग र ध्यानको कार्यशालाहरु रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा सहभागिताका लागि नेपालीलाई दिनको ३ हजार रुपैयाँ र विदेशीलाई ६ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । महोत्सब अवधिभर ४ दिन सहभागी हुनेहरुका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ। यस महोत्सवको ट्राभल पार्टनर यती एयरलाइन्स रहेको छ।