माघ १८,पोखरा – नेपाल विद्युत प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन शुरु गरेको छ । तारलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरुलाई भूमीगत प्रणालीबाट विद्युत् आपूर्ति दिन शुरु गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा पोखराको अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मका झण्डै तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको छ । त्यहाँका जमिनमाथिको लाइन र पोलहरु हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तार हटाएको क्षेत्र सुन्दर देखिएको छ ।
पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरुमा रहेका ११ केभी एवम् चार सय भोल्ट लाइनलाई भूमिगत गर्ने र ती क्षेत्रहरुमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ ।
विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । अहिले भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको चालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने छ ।